काठमाडौँ । प्रधानमन्त्रीको शपथ ग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सम्भावित मन्त्रीहरूको नाम र मन्त्रालय बाँडफाँटबारे आन्तरिक छलफल तीव्र बनेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक संवाद भइरहेको एक नेताले जानकारी दिएका छन् ।
संघीय संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिएपछि उनले नै सांसदहरूलाई शपथ गराउनेछन् ।
सांसदहरूको शपथपछि रास्वपाले दलको बैठक राखेर संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । दलको नेता चयन भएपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
पार्टीका अनुसार शपथलगत्तै बैठक राख्ने वा चैत १३ गते दलको बैठक बोलाउने भन्ने विषयमा छलफल भइरहेको छ । पार्टी प्रवक्ता मनिष झाले भने हालसम्म दलको बैठकबारे औपचारिक सूचना नआएको बताएका छन् ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । रास्वपाले ठूलो बहुमत (१८२ सिट नजिक) प्राप्त गरेकाले सरकार गठनको बाटो खुल्ने देखिएको छ । राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानमन्त्रीको शपथ पनि चैत १३ गते हुने तयारी गरिएको नेताहरूको भनाइ छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्रिपरिषद्को आकार घटाउने विषयमा छलफल भइरहेको छ । रास्वपाले चुनावी घोषणापत्रमा संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्ने उल्लेख गरेको छ । हाल संघीय मन्त्रिपरिषद् अधिकतम २५ सदस्यसम्म सीमित हुने संवैधानिक व्यवस्था छ ।
मन्त्रालय घटाएर विज्ञतामा आधारित नेतृत्व चयन गर्ने र प्रशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको बुर्लाकोटीले बताए । उनका अनुसार कम्तीमा १५ देखि बढीमा १८ मन्त्रालय बनाउने गरी आन्तरिक छलफल भइरहेको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्री : बालेन्द्र शाह (बालेन)
गृहमन्त्री : डिपी आर्याल
अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री : शिशिर खनाल
सञ्चार तथा सूचना प्रविधिमन्त्री : मनिष झा
जलस्रोत तथा सिँचाइमन्त्री : अमरेश सिंह
भौतिक पूर्वाधार तथा यातायातमन्त्री : डा. सुनिल लम्साल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; सहरी विकास: विश्वराज पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : सस्मित पोखरेल
ऊर्जा: डा. राम लामा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : सोविता गौतम
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री : सुधन गुरुङ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : यज्ञमणि न्यौपाने
उद्योग, वाणिज्य तथा आपूर्ति: पुनमकुमारी अग्रवाल
वन तथा वातावरण : धर्मराज केसी
सङ्घीय मामिला तथा सामान्य प्रशासन: विराजभक्त श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री : बल्लु गुप्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री : तोसिमा कार्की
कृषि तथा पशुपन्छी विकास; खानेपानी : दीपक बोहरा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक: बिना गुरुङ्ग
यद्यपि, उक्त विषयमा आधिकारिक पुष्टि भने हुन बाँकी छ।


प्रतिक्रिया