एमाले उपमहासचिव भट्टराईले पार्टी रूपान्तरणका लागि कार्यकर्तासँग मागे सुझाव

एमाले उपमहासचिव भट्टराईले पार्टी रूपान्तरणका लागि कार्यकर्तासँग मागे सुझाव



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि सुझाव माग गरेका छन् । भट्टराईले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

सामाजिक सञ्जालमार्फत आम नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग अपिल जारी गर्दै उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको बताएका छन् । यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएको उनको तर्क छ ।

“फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ,” उनले लेखेका छन् , “यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु ।”

भट्टराईका अनुसार समीक्षा आग्रह वा पक्षपातभन्दा माथि उठेर हुनुपर्नेछ । उनले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सुझावका लागि उनले तीन प्रमुख विषय अघि सारेका छन् । निर्वाचनमा पार्टीको कमजोर नतिजाका कारण—नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेण्डा र प्रचारलगायत आन्तरिक तथा बाह्य पक्षको विश्लेषण, दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव तथा त्यसको विधि र प्रक्रिया र तेस्रो, पार्टीका सबल र कमजोर पक्षसहित भविष्यको सम्भावनाबारे धारणा आग्रह गरेका छन् ।

भट्टराईले सुझाव इमेल र व्हाट्सएपमार्फत पठाउन सबैमा अनुरोध गरेका छन् ।