काठमाडौं । इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले पछि हट्न बाध्य भएको भनेर कडा टिप्पणी गरेको छ ।
अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पले इरानको “कडा चेतावनी” पछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।
यसैबीच, इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गर्दै “Trump backs down!” शीर्षकमा टिप्पणी गरेको छ ।
ट्रम्पले यसअघि इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए ।
आज भने ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् । ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी गराएका हुन् ।
उनले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गरेका छन् । वितेका दुई दिनदेखि चलिरहेको छलफलपछि ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध र तनावको पूर्ण समाधानका लागि धेरै राम्रो कुराकानी भएको बताएका छन् ।


प्रतिक्रिया