काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट इतिहासकै धेरै ३५५ रन बनाएको छ । यसअघि २०१८ मा कीर्तिपुरमा मधेश प्रदेशसँगको खेलमा एपीएफले ३३९ रन बनाएको थियो ।
मूलपानी मैदानमा आज एपीएफ क्लबसँगको खेलमा पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो । टस हारेर ब्याटिङ गरेको पुलिसका लागि चार जना खेलाडीले अर्धशतक बनाए ।
पुलिसका शङ्कर रानाले ६१, दिनेश खरेलले ६०, दिलसाद अलीले नटआउट ५१, कप्तान आरिफ शेखले ५० रन बनाए । एपीएफका कमल ऐरी र अमर रौटेलाले २/२ विकेट लिए । अहिले एपीएफले पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याइरहेको छ ।
यस्तै तल्लो मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो ।
बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ रन बनाए । गण्डकीका कमल परियारले २ विकेट लिए । अहिले गण्डकीले बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया