नवयुवाहरूकाे विद्रोहको मर्म अनुसार काम गर्न रास्वपालाई गगनको सुझाव

नवयुवाहरूकाे विद्रोहको मर्म अनुसार काम गर्न रास्वपालाई गगनको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपालाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नवयुवाहरूको भावनालाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गरे ।

उनले भने, ‘रास्वपाले ५ वर्षको लागि सरकार चलाउने अवसर पाएको छ । पार्टी र व्यक्तिको तर्फबाट बधाई दिन्छु, संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु ।’

उनले निर्वाचनले कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको भन्दै नयाँ जिम्मेवारी पाएको बताए ।

उनले २०४६ सालपछि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिनका लागि आयोग बनाउन सरकारसँग माग गरेका छन् ।

‘०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,’ थापाले भने, ‘रास्वपाले पनि त्यही भनेको छ । आयोग बनाउँछौँ र छानबिन गर्छौँ, अवैध हो भने सम्पत्ति जफत गर्न सहयोग गर्नेछौँ ।’

उनले यो आयोग बनाउन कांग्रेसको माग रहने बताउँदै भने, ‘यो ३५ वर्षको अवधिमा थुप्रै राम्रा काम पनि भएका छन् । पूर्वाग्रह नराखी २०४६ सालदेखि भदौ २४ मा नेताका घरमा जलेका नोटसम्मको छानबिन गर्नुपर्छ ।’