शेयर बजार ८ महिनायताकै उच्च विन्दुमा

शेयर बजार ८ महिनायताकै उच्च विन्दुमा



काठमाडौं । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार ९६० दशमलव ४० विन्दुमा पुगेको छ ।

नेप्से ८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन १३ गते नेप्से ३ हजार २ विन्दुमा पुगेको थियो ।

आज होटल तथा पर्यटन, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ दशमलव १२ प्रतिशतले उकालो लागेको छ ।

आज १३६ वटा कम्पनीको शेयर बढेकोमा ११७ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन फर्स्ट माइक्रो फाइनान्सको शेयर भने साढे ६ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर १४ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ ।