विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपतिको आह्वान

विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपतिको आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतअनुसार देशमा स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धि प्रवर्द्धन गर्ने जिम्मेवारी अब जनप्रतिनिधिको काँधमा रहेको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रक्रियामार्फत प्राप्त जनादेशलाई व्यवहारमा रूपान्तरण गर्न सबै जनप्रतिनिधि साझा उद्देश्यमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । उनले राजनीतिक मतभिन्नता स्वाभाविक भए पनि राष्ट्र निर्माणका साझा लक्ष्यमा सबै पक्ष एकमत हुनुपर्ने विश्वास व्यक्त गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुसार नागरिकको जीवनस्तर सुधार गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्न एकताबद्ध प्रयास आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । निर्वाचन प्रक्रियामा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको भरोसा अझ सुदृढ भएको र प्राप्त जनमतले मुलुकको भविष्यको दिशा निर्धारण गरेको उनले बताए ।

निर्वाचन आयोगले यस पटक मतदाताको सहभागिता वृद्धि, खर्च व्यवस्थापनमा मितव्ययिता, पारदर्शिता अभिवृद्धि, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा वातावरणमैत्री अभ्यासलाई अघि बढाएको उल्लेख गर्दै उनले आयोगको प्रयासको प्रशंसा गरे । उनका अनुसार यी पहलहरूले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरमा समेत सराहनीय बनाउन योगदान पुर्‍याएको छ ।

राष्ट्रपति पौडेलले निर्वाचनलाई लोकतान्त्रिक प्रणालीको आधार स्तम्भका रूपमा चित्रण गर्दै प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, प्रशासनिक संयन्त्र, सुरक्षाकर्मी तथा सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गरेका छन् ।