सुनसरी । सुनसरीमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा ८ वटा कृषि फार्म प्रभावित भएका छन् । संक्रमण फैलिएसँगै नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र पारिएको छ ।
इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहबी नगरपालिका र गढी गाउँपालिका का एक–एक फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।
कार्यालय प्रमुख डा.मनोज कुमार महतोका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा मात्र ११,०२० कुखुरा र ११,३०० अण्डा नष्ट गरिएको छ ।
यसबाहेक विभिन्न फार्महरूमा सयौँदेखि हजारौँसम्म कुखुरा नष्ट गरिएका छन् । प्रभावितमध्ये इटहरी, दुहबी र गढीका फार्महरूमा संक्रमण पुष्टि भइसकेको छ भने अन्य स्थानमा पनि जोखिम बढेको छ ।
महतोले फार्म सञ्चालकहरूले हालसालै बाहिरबाट कुखुरा नल्याएको बताए पनि अण्डा र दाना ओसारपसार गर्ने सवारी साधनमार्फत संक्रमण फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। यसले बर्डफ्लु फैलावटमा ढुवानी प्रणाली नै प्रमुख जोखिम बन्न सक्ने संकेत गरेको छ ।
संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको छ भने पंक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ । साथै संक्रमित फार्महरूमा खोर सफाइ, डिसइन्फेक्सन र निगरानी अभियान सञ्चालन भइरहेको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न पाइने छैन। यदि सो अवधिमा पुनः संक्रमण नदेखिए मात्र पुनः उत्पादन सुरु गर्न अनुमति दिइने जनाइएको छ ।


प्रतिक्रिया