विराटनगर । विराटनगरमा एक पुरूषले आफ्नो श्रीमतिको हत्या गरेर हराएको भन्दै प्रहरीमा उजुरी दिएको खुलेको छ । विराटनगर–१५ हर्ताली हाटका रोशन साहले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा पत्नी हराएको भन्दै निवेदन दिएका थिए । तर अनुसन्धानका क्रममा उनले नै हत्या गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ ।
घटनापछि उनले पत्नीको शव लुकाएको खुलेको छ । प्रहरीका अनुसार हत्या पश्चात् रोशनले पत्नीको हातखुट्टा बाँधेर तन्नाले बेरी विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको कल्भर्टमुनि पानीभित्र फालेका थिए । घरदेखि करिब ४–५ किलोमिटर टाढा उक्त स्थान रोज्नुले घटना सुनियोजित देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
घटनाको खुलासा भने चार दिनपछि भएको थियो । स्थानीयले पानीभित्र शंकास्पद अवस्थामा शव देखेपछि वडाध्यक्ष समीर कमर मियाँले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो ।
शव सडेको अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दा मृतक कोमलकुमारी साह रहेको पुष्टि भएको हो ।
प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । प्रारम्भिक अनुसन्धान अनुसार उनले घाँटी थिचेर हत्या गरेको खुलेको छ । त्यसपछि प्रमाण लुकाउन शवलाई पानीमा फालेको प्रहरीको भनाइ छ टनाको प्रकृतिले यो योजनाबद्ध रूपमा गरिएको अपराध भएको संकेत गर्दछ ।
प्रहरीले रोशन साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेको जनाएको छ । हाल उनी हिरासतमा रहेका छन् र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
घटनास्थलबाट शव उठाएर कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ । रिपोर्टपछि थप विवरण सार्वजनिक हुने बताइएको छ ।


प्रतिक्रिया