काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारोमा परेका बेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त नभएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधि सभाका र राष्ट्रिय सभाका सदस्यहरूलाई सम्बोधन गर्दै पार्टीभित्र एकता कायम गर्नुपर्ने धारणा राखेका हुन् ।
‘हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत पार्ने काम गर्नुपर्छ । यस काममा हामी चुक्नुहुँदैन । जनतालाई सचेत पार्न हामी चुक्नुहुँदैन। यसका लागि हामी एकताबद्ध र एकढिक्का भएर अगाडि बढ्नुपर्दछ । जतिबेला पार्टी प्रतिकूल अवस्था वा अप्ठ्यारोमा हुन्छ, त्यतिबेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त हुँदै होइनन्, हुनै सक्दैनन्,’ उनले भने ।
पार्टीले आफ्नो एकतालाई सुदृढ बनाएर, एकताबद्ध आवाजका साथ अगाडि बढ्नुपर्ने र अहिलेको आवश्यकता यही भएको उनको भनाइ छ ।
ओलीले पार्टीका विचार संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।
‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन ।’
अध्यक्ष ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरे । ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’
निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको ओलीले बताए । ‘यसमा एउटा हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे,’ ओलीले भने ।
घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको पनि ओलीले दाबी गरे ।
एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए । ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने ।


प्रतिक्रिया