वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी

वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन् । वादी समुदायबाट मन्त्री बनेको उनी पहिलो हो ।

महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादीले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउँदै आएकी छन् । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उनको भनाइ छ ।

कर्णाली प्रदेशको सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई अहिले काठमाण्डौको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट शुरू गरेकी हुन् । ‘महिलाहरुको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,’ उनले भनिन्, ’स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।’

सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उहाँले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन् । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उहाँको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ ।

वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जनी गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।

यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित हुनुभएको थियो । ‘वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,’ उनले भनिन् । आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झीइन् । उनले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाइन् ।

यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताइन् । अभावका बीच पनि पढ्ने रहर उहाँले कहिल्यै मार्नुभएन र एउटा संस्थाले उहाँलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा (बीएसडब्लू) अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताइन् । पढ्न पाएपछि उहाँले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने भइन् । ‘समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हँुदोरहेछ,’ उनले भनिन्, ‘जुन अहिलेसम्म लडिरहेछु ।’