काठमाडौं । जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएको हो । आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइने तयारी गरिएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । सो क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट चैत १४ गते बिहानै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकको सुझावअनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।


प्रतिक्रिया