मध्यपूर्वको तनावले एशिया क्षेत्रमा तेलको भाउ फेरि बढ्यो

मध्यपूर्वको तनावले एशिया क्षेत्रमा तेलको भाउ फेरि बढ्यो



काठमाडौं । मध्यपूर्वमा तनाव कायम रहँदा एशिया क्षेत्रमा तेलको भाउ फेरि बढेको छ । एसिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको शुरुवात गरेको छ ।

तेलको भाउ बढेर प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११५ दशमलव ८४ डलर छ, जुन २.९ प्रतिशतले बढेको हो । गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भैरहेको छ ।

गएको हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल ११८ डलरमा पुगेको थियो र शुक्रबार दिउँसोसम्म ११२ डलरभन्दा तल थियो । इरानविरुद्धको अमेरिका–इजरायल युद्ध पाँचौं हप्तामा प्रवेश गर्दा खाडीका देशहरूले श्रृंखलाबद्ध आक्रमणका घटनाको रिपोर्ट गरेका बीबीसीले जनाएको छ ।

जसमा प्रमुख औद्योगिक पूर्वाधारमा आक्रमण भएको उल्लेख छ । युएईले अबुधाबीको एक प्रमुख आल्मुनियम प्लान्टमा इरानी आक्रमणमा धेरै मानिसहरू घाइते भएको बताएको छ । यस्तै बहराइनले विश्वको सबैभन्दा ठूलो आल्मुनियम गलाउने सुविधामा इरानी आक्रमणबाट दुई कर्मचारी घाइते भएको जनाएको छ ।