प्रधानमन्त्री कपमा मधेसको लगातार तेस्रो जित

प्रधानमन्त्री कपमा मधेसको लगातार तेस्रो जित



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार तेस्रो जित निकालेको छ । सोमबार जनकपुरधाममा कर्णालीलाई ५ विकेटले पराजित गर्दै मधेसले तेस्रो जित निकालेको हो ।

रामजानकी रंगशाला जनकपुरधाममा भएको खेलमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो । सुरुआती ब्याटिङ गरेको कर्णालीले दिएको १३० रनको लक्ष्य मधेसले २४ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका लागि ओपनर निरज यादवले ३८, मयन यादवले २२ २४ रन, अरनिको यादवले ३२ रन र पवन श्राफले १७ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका दिपेन्द्र रावतले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । दिवान पुन र प्रकाश जैशीले समान १/१ विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णालीले ३१ ओभर २ बलमा सबै विकेट गुमाउँदै १२९ रन मात्र बनाएको थियो । कर्णालीका ओपनर रविन्द्र शाहीले ४० रन, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले १८, विपिन रावलले १८ र कप्तान दिवान पुनले ११ बलमा १२ रन बनाए ।

बलिङतर्फ आशिक बैठाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिँदा विशाल पटेलले २, अरनिको यादवले २ र प्रदीप पासवानले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच मधेसका आशिक बैठा घोषित भए ।

मधेस प्रदेशको चारवटा खेलमा ७ अंक रहेको छ । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने बाँकी तीन खेलमा जित निकालेको छ ।