काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।
सचिवालयकाअनुसार प्रतिनिधि सभा सदस्यहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सोही कानुनी प्रावधानअनुसार सम्पत्ति विवरण पेस गर्न सांसदहरूलाई औपचारिक सूचना जारी गरिएको उनको भनाई छ । प्रतिनिधि सभा सदस्यहरूले चैत १२ गते शपथ लिएपछि सार्वजनिक पद धारण गरेको मानिने भएकाले सो मितिबाट गणना हुनेगरी ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सचिवालयमा आफ्नो सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रूपमा बुझाउनुपर्ने प्रवक्ता गिरीले जानकारी दिए ।
उनकाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । सचिवालयले प्रतिनिधि सभा सदस्यहरूले बुझाएको सम्पत्ति विवरण पूर्ण रूपमा गोप्य रहने स्पष्ट पारेको छ । कानूनअनुसार अदालतको आदेश आएमा बाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिए ।
उनकाअनुसार सदस्यहरूले बुझाएको विवरणको दुरुपयोग हुनेछैन । सचिवालयले यसअघि राष्ट्रिय सभा सदस्यहरूलाई पनि सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको जनाएको छ ।


प्रतिक्रिया