काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् । देउवापक्षीय केन्द्रीय समितिको बैठकमा सुदूरपश्चिम प्रदेशका सभापतिसमेत रहेका नेता बलयारले एकअर्कालाई खुइल्याएर कसैको भलो नहुने बताए ।
उनले पार्टीको आधिकारिकता पुष्टि गरेर मात्र नहुने भन्दै वास्तविकता स्वीकारेर एकतामा जानुपर्ने बताए ।
‘हामी बलियो छौँ । आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन । यो समय दुवैपक्षले चिन्तन गर्ने बेला हो । वास्तविकतालाई स्वीकार गरेर एकतामा जानुपर्छ’, बलायरले भने ।
उनले आफूहरूको छलफललाई समानान्तर गतिविधि भन्न नमिल्ने बताए । ‘यो अधिकारको कुरा हो । अर्को पार्टी गठन गर्न जम्मा भएको हैन, अधिकारको कुरा हो । कसैलाई खुइल्याएर कोही बलियो हुने अवस्था छैन । सबै खुइलिएको अवस्था छ’, बलायरले थपे ।


प्रतिक्रिया