वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न मान्यता प्राप्त स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने निर्णय गरेको छ ।

मन्त्री दीपककुमार साहले मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सरकारबाट स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाका लागि सूचीकरण हुन पाउने निर्णय गराएका हुन् ।

मन्त्रालयले सूचीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । अहिले २५० वटा स्वास्थ्य संस्था र सरकारी अस्पतालबाट श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको छ । सूचीकरण भएका स्वास्थ्य संस्थाबाट गरिएको परीक्षणमा उत्तीर्ण भएका श्रमिक मात्रै वैदेशिक रोजगारीमा जान योग्य हुन्छन् ।

वैदेशिक रोजगारी ऐन २०६४ र नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ ।

अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन् । स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरेर सूचीकृत गरिनेछ ।