काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै गैरकानूनी ढंगबाट पक्राउ गरिएको बताए । उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्यारोको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए । देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ ।
बादलले प्रतिनिधिसभा निर्वाचनमा हिजोका प्रमुख दलहरुको पराजयले गम्भीर शिक्षा दिएको र यो अस्थायी पराजय भएको बताए ।
नेता बादलले आफूहरु इमान्दार भएर प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताए । नेता बादलले जिज्ञासा गरे, “कुन उद्देश्य पूर्ति गर्न भाद्र २३ र २४ गतेको घटना घटाइयो ? कुन उद्देश्यले विद्यालयका छात्रछात्राको प्रयोग गरियो ? कुन उद्देश्य पूर्ति गर्न पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई गिरफ्तार गरियो ?, कुन उद्देश्य पूर्ति गर्न देशको सार्वजनिक संरचनाहरु चलाइयो ?”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चमत्कारीक विजयका लागि उनले रास्वपालाई बधाई ज्ञापन गरे । रास्वपालाई विजयी बनाउन खेलेका सबै पक्षलाई पनि उनले बधाई ज्ञापन गरे । रास्वपाको विजय जादूमय विजय भएको भन्दै उनले विजयी बनाउने सबै पक्षलाई बधाई ज्ञापन गरे ।
नेपाली सेना, यसअघिको सुशीला कार्की नेतृत्वको सरकार, एजनीओ–आइएनजीओ र मिडियालाई समेत उनले बधाई दिए ।


प्रतिक्रिया