काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासका काम कारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले ‘संवैधानिक इजलास पोर्टल’ को शुभारम्भ गरेको छ ।
पोर्टलको उद्घाटन गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्याेटलाई प्राथमिकतामा राखिएको बताए ।
उहाँकाअनुसार संवैधानिक इजलासमा अहिले २८२ वटा मुद्दा विचाराधीन छन् । जसमा २०७४ सालदेखिका ८ वर्ष पुराना मुद्दासमेत बाँकी रहेका छन् ।
कायममुकायम प्रधानन्यायाधीश मल्लले भविष्यमा अनलाइन रजिस्ट्रेशन, भर्चुअल सुनुवाइ, अनलाइन पेमेन्ट र घरमै बसेर फैसला डाउनलोड गर्न मिल्नेलगायत व्यवस्था गर्ने लक्ष्य रहेको उनले बताए ।
अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले पोर्टलमार्फत न्यायपालिकालाई प्रविधिमैत्री बनाउने दिशामा यो एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
नयाँ पोर्टलमा संवैधानिक इजलाससँग सम्बन्धित आदेश, फैसलाका विवरण, प्रक्रियागत जानकारी, इजलासमा रहने न्यायाधीशको विवरण र सम्बन्धित ऐन–कानूनहरू समावेश गरिएको छ । यसले कानून व्यवसायी, अनुसन्धानकर्ता, कर्मचारी र सेवाग्राहीका लागि अध्ययन र अनुसन्धानको ठूलो स्रोतका रूपमा काम गर्ने विश्वास छ ।


प्रतिक्रिया