काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले यसअघि कोशी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा सो क्षेत्रका समस्या र विविध विषयमा उनले सुझाव लिएका थिए ।
प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार छलफल मुख्यतः गण्डकी प्रदेशको विकास, पूर्वाधारका आयोजना र जनताका तत्कालीन आवश्यकताहरूमा केन्द्रित थियो ।
प्रधानमन्त्रीले गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित विभिन्न राजनीतिक दलका सांसदसँग उनीहरूको निर्वाचन क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सकिने योजनाका विषयमा सुझाव मागेका थिए ।
छलफलका क्रममा सहभागी सांसदहरूले आ–आफ्नो क्षेत्रका सडक, खानेपानी, पर्यटन प्रवद्र्धन र अधुरा आयोजनाहरूका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सांसदका कुरा सुनेपछि प्रधानमन्त्री शाहले जनगुनासो र विकासका आवश्यकतालाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । “सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनाहरू राख्नुभएको छ,” सञ्चार सहजकर्ता बजगाईंले भने, “प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित मन्त्रालयहरूले ती विषयलाई अध्ययन गरी आवश्यक सहजीकरण गर्नेछन् ।”


प्रतिक्रिया