पर्सा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले आज वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाव पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरे ।
‘लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाव पनि पर्ने गर्छ । त्यति बेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन् । तर उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाइफकाइ वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु’, उनले भने, ‘घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन् । त्यस्ता गुनासाहरूलाई पनि अन्त्य गर्न जरुरी छ ।’
अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा/पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले पनि तल्लो तहमा पनि त्याे कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला’, उनले भने, ‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ पनि सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।’
अर्थमन्त्री वाग्लेले बदमासी गर्नेविरुद्ध राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताए । ‘भष्ट्राचारलाई मलजल गर्ने समूह र व्यक्तिहरूमाथि नेपालको मौजुदा कानून कार्यान्वयन गरेर नै छाड्नेछौँ’, उनले भने, ‘अहिले हिजोजस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ । अब सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेछ ।’


प्रतिक्रिया