काठमाडौंमा गुण्डागर्दी र अश्लीलता फैलाउने ७६ जना पक्राउ

काठमाडौंमा गुण्डागर्दी र अश्लीलता फैलाउने ७६ जना पक्राउ



काठमाडौं । राजधानीका विभिन्न स्थानमा गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले गएको बिहीबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौँका विभिन्न क्षेत्रबाट यी व्यक्तिहरूलाई समातेको हो । पक्राउ पर्नेहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती होटल तथा सवारी साधन प्रयोग गर्न दबाब दिने बिचौलियादेखि सार्वजनिक स्थलमा विदेशी र सर्वसाधारणलाई अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्नेहरूसम्म रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै ७० जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने ३ जना जुवा र ३ जना लुटपाट तथा चोरीको मुद्दामा अनुसन्धानको घेरामा छन् । पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको छ ।