एमाले सांसद भण्डारी राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

एमाले सांसद भण्डारी राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित



काठमाडौं । नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाका सांसदहरूले बधाई तथा कार्यकाल शुभकामना दिएका छन् ।

एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

उनले यसअघि संविधानसभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् ।