काठमाडौं । राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।
आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबिचको सहमतिका आधारमा एक, एक उम्मेदवारको प्रस्ताव परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।
चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन् ।
यस्तै, पौडेलको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सिना र रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका छन् ।
सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताएका थिए । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।


प्रतिक्रिया