संसदमा पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति गुरू बरालको नियमापत्ति

संसदमा पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति गुरू बरालको नियमापत्ति



काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपाका यादवले एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दल नेता रामबहादुर थापा बादललाई कटाक्ष गर्दै अभिव्यक्ति दिएका थिए ।

‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो। त्यही भूतले कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्न चाहन्छु। एउटा भूत झार्ने झाक्रीको व्यवस्था गरियोस् । किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुन पर्ने थियो त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुबिचार सम्मानीत सदनसमक्ष पठाउँदैछ,’ यादवले भनेका थिए ।

उनको भनाइप्रति एमाले सांसद गुरू बरालले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे ।

‘अपराधी करार गर्ने थलो संसद होइन । न्यायलयले गर्छ । प्रतिनिधि सभा अन्धविश्वासमा विश्वास गर्दैन । यसखालको अत्यन्त अपमानजनक शब्द प्रयोग गर्ने थलो होइन । हाम्रो दलको नेता रामबहादुर थापा बादलप्रति त्यही अपमानजनक शब्द प्रयोग गरेर उहाँलाई समेत अपमानित गर्नुभएको छ । यसखालको शब्दहरू प्रतिनिधि सभाको रेकर्डबाट अबिलम्ब हटाइयोस्,’ उनले भने ।

एमालेको नियमापत्तिपछि सभामुख डोलप्रसाद अर्यालले सो विषयमा ध्यानाकर्षण भएको बताएका छन् ।