काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको दावी गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दावी गरेका हुन् ।
आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान शुरू गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गर्दै उनले नेपालको कानुनअनुसार आफूहरूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराएका छन् ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिङ्गो जीवन सङ्घर्षमै व्यथित गरेको उनले उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको बताएका छन् ।
वास्तविकता समयक्रमसँगै खुल्दै जाने भन्दै उनले अतिरञ्जना गरी सार्वजिनक भएका विवरणबाट भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।


प्रतिक्रिया