ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । यसका लागि सरकारी वकिलको कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भइसकेको उनले बताए ।

प्रहरीले भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा दुवै जनामाथि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । पछिल्लो पटक उनीहरूलाई ५ दिनको म्याद थप गरिएको थियो, जुन म्याद गएराति सकिएसँगै आज रिहा गर्ने निर्णय गरिएको हो ।

यसअघि चैत २३ गते विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि थप म्याद नथप्न परमादेश जारी गरेको थियो ।

ओली र लेखकले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिट भने अदालतले खारेज गरेको थियो । तर अदालतले जारी गरेको परमादेशमा तेस्रो पटक थपिएको हिरासत अवधि समाप्त भएपछि पुनः म्याद नथप्न स्पष्ट निर्देशन दिइएको थियो ।

प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको थियो । भदौ २३ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।