कांग्रेस विवादको रिटमा सुनुवाइ हुँदै

कांग्रेस विवादको रिटमा सुनुवाइ हुँदै


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । पार्टीको आधिकारिकता सम्बन्धी विवाद नटुंगिदासम्म १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ ।

शेरबहादुर देउवा पक्षधर कांग्रेस संस्थापन पक्षले सार्वजनिक गरेको १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गरेका हुन् । उनीहरुले छुट्टै रिट निवेदन पेश गरेको नभई यसअघि पेश भएको विवादमा पुरक निवेदन दर्ता गरेका हुन् ।

देउवा पक्षधरहरुले दर्ता गरेको निवेदनमाथि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासमा आज शुक्रबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

उनीहरुले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिका बीच विशेष महाधिवेशन गरेर चयन गरिएको नयाँ कार्यसमितिलाई मान्यता दिन नहुने माग गरेका थिए । गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका हुन् ।

आयोगको निर्णयविरूद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा नै विचाराधिन भएको स्मरण गराउँदै उनीहरुले मुद्दा विचाराधीन रहेकै अवस्थामा एकतर्फीरूपमा महाधिवेशनको प्रक्रिया अगाडि बढाउन नहुने जिकिर गरेका छन् ।