संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण : राष्ट्रपति

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनबाट युवापुस्ताको नेतृत्व विकास भएको बताएका छन् । शुक्रबार (चैत २७) संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उनले इतिहासमा नै युवावर्गको अभूतपूर्व प्रतिनिधिसभा गठन भएको बताए ।

“निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमा नै अभूतपूर्व रूपमा युवावर्गको प्रतिनिधित्वसहितको प्रतिनिधिसभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ,” उनले भने, “यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ ।”

उनले निर्वाचित प्रतिनिधिलाई बधाई दिए । अन्तरिम सरकारको जिम्मेवारी पूरा गरेकामा उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई पनि धन्यवाद दिए ।

उनले भने, ‘जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुक भित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तीव्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकाङ्क्षा राखेका छन् । पटक–पटक भएका जनआन्दोलन, सङ्घर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलन मार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो ।’

जनताको चाहना पुरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने बताए ।

उनले थपे, ‘निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु । साथै न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू प्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ ।’