काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
उनले प्रतिनिधिसभाका कुल उपस्थित २५६ मध्ये २२९ सदस्यको मत पाइन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाइन् । रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् ।
नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रह्यो । सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित थिए ।
सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्दै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित भएको जानकारी गराए ।
२५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकी हुन् । उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी छन् । पढाइ सकेपछि उनी आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् ।
उनी श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुन् ।


प्रतिक्रिया