काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्व युद्धपछि वृद्धि भइरहेको इन्धनको भाउपछि विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ ।
विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यस्तो बताएको हो । इन्धन, ग्यास र खाद्यान्नको भाउ यस वर्ष र आउँदो वर्ष अझै उच्च हुने आईएमएफले चेतावनी दिएको छ ।
विश्वको आर्थिक वृद्धिदर यस वर्ष २ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ । विश्वको २० प्रतिशत इन्धन ढुवानी हुने नाका स्ट्रेट अफ होर्मुजमा युद्धका कारण भएको अवरोधले इन्धनको मूल्य पटक–पटक बढेको छ ।
यो संकट समाधानका लागि प्रयास भए पनि वार्ता सफल हुन सकेन । केही दिनअघि मात्रै अमेरिकाले उल्टै होर्मुजमा नाकाबन्दीको घोषणा गरेको छ ।
यो परिस्थितिका कारण विश्वको आर्थिक व्यवस्था एक पटक फेरि मन्दीको चुनौतीतर्फ अग्रसर भइरहेको आईमएफको चेतावनी छ ।
युद्ध लम्बिँदै गए अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ११० पुग्ने र सन् २०२७ मा यसको मूल्य १२५ डलर पुग्ने प्रक्षेपण आईएमएफले गरेको छ ।
आगामी वर्ष महँगी ६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण छ । परिस्थिति नसम्हालिए विश्वले मन्दीको गम्भीर अवस्था खेप्ने आईएमएफको भनाइ छ ।
यस परिस्थितिले कतिपय राष्ट्रमा महँगी, बेरोजगारी, खाद्य असुरक्षा निम्त्याउने आईएमएफका प्रमुख अर्थशास्त्री पियर ओलीभिय गुगान्सालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।


प्रतिक्रिया