काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूको समग्र खुद नाफा वृद्धि भएको देखिएको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले नौ महिनाको अवधिमा उल्लेख्य नाफा आर्जन गरेका छन् ।
तेस्रो त्रैमाससम्मको अपरिष्कृत विवरणअनुसार वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४१ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यस आधारमा बैंकहरूको नाफा १९.३० प्रतिशतले बढेको देखिन्छ ।
बैंकगत रूपमा सबैभन्दा बढी खुद नाफा नबिल बैंकले कमाएको छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा यस बैंकको नाफा ५ अर्ब ५ करोड रुपैयाँ थियो ।
नाफाका आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले चैत्र मसान्तसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।
नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको २८ करोड ५८ लाख रुपैयाँको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो ।
यता नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकमा देखिएको छ । बैंकको खुद नाफा ५४ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३० प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।


प्रतिक्रिया