रुपन्देही । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ । अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू गर्न थालिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि तोकेको समयसीमा र शुल्कसम्बन्धी व्यवस्था नयाँ नभई विगतदेखि नै लागू रहेको कानुनी प्रावधान हो । तर, अनलाइन प्रणाली नहुँदा कुन सवारी कति पटक नेपाल प्रवेश गर्यो, कति दिन बस्यो र समयसीमा नाघ्यो वा नाघेन भन्ने तथ्यांक व्यवस्थित रूपमा राख्न कठिन हुँदा नियम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन ।
भारतीय नागरिक नेपालभर भ्रमण गर्न पाउने भए पनि पर्यटकीय प्रयोजनका लागि नेपाल भित्रिने भारतीय सवारीसाधनलाई भने निश्चित समयसीमा तोकिएको उनको भनाइ छ । उनका अनुसार कार, जिप, मोटरसाइकललगायत पर्यटकीय सवारीसाधनले एक वर्षभित्र एकै पटक वा पटक पटक गरी जम्मा ३० दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानुनी व्यवस्था छ ।
“तीस दिनभन्दा बढी बस्न हालतमा पाइँदैन । अतिरिक्त महसुल तिरेर पनि बस्न अनुमति छैन”, प्रमुख भन्सार अधिकृत पौडेलले भने, “तोकिएको समयसीमा नाघेर सवारी नेपालमै राखेमा कानुनअनुसार कारबाही हुन्छ र सवारीसाधनसमेत जफत हुनसक्छ ।”
भन्सार अधिकृत पौडेलका अनुसार सीमा नाकामा यो व्यवस्था विगतदेखि नै लागू गरिँदै आए पनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुन सकेको थिएन । अहिले अनलाइन प्रणालीमार्फत सवारीको प्रवेश, बसाइ अवधि र आवतजावतको विवरण डिजिटल रूपमा राख्न थालिएपछि कार्यान्वयनमा सहजता आएको उहाँले बताउनुभयो ।
मालवाहक सवारीमा फरक व्यवस्था
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पर्यटकीय सवारी र मालवाहक ढुवानीका साधनका लागि भने फरक कानुनी व्यवस्था लागू गरिएको छ । ‘सवारी साधन’ र ‘ढुवानीका साधन’ अलगअलग रूपमा परिभाषित गरिएको उल्लेख गर्दै पौडेलले मालवाहक ट्रक तथा ढुवानीका साधनमा ३० दिने सीमा लागू नहुने स्पष्ट पारे।
नेपालमा माल लिन आउने भारतीय ढुवानीका साधनले नेपाल प्रवेश गर्दा रु एक हजार ७०० शुल्क तिर्नुपर्ने व्यवस्था छ । यस्ता सवारीले दुई दिनभित्र माल लोड गरी नेपालबाट फर्किनुपर्ने हुन्छ ।
त्यस्तै, भारतबाट माल बोकेर नेपाल आउने ढुवानीका साधनले रु. एक हजार ५०० तिरेर प्रवेश अनुमति पाउने गरेका छन् । यस्ता गाडीले ७२ घण्टाभित्र नेपाल छाडे थप कुनै शुल्क लाग्दैन । तर ७२ घण्टाभन्दा बढी नेपालमा बसेमा प्रतिदिन रु. दुई हजार ५०० का दरले महसुल लाग्ने व्यवस्था रहेको पौडेलले जानकारी दिए । उनका अनुसार मालवाहक ढुवानीका साधन व्यापारिक प्रयोजनसँग प्रत्यक्ष सम्बन्धित भएकाले तिनमा पर्यटकीय सवारीसरह ३० दिने सीमा लागू गरिएको छैन ।
सीमावर्ती बजारका लागि १२ घण्टे सुविधा
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा छोटो अवधिको आवतजावत सुविधा पनि दिइँदै आएको छ । कार, जिप र मोटरसाइकललगायत भारतीय सवारी साधनले नजिकको नेपाली बजारसम्म आवतजावत गर्न १२ घण्टे सुविधा पाउने गरेका छन् । यस्तो सुविधाका लागि कुनै शुल्क लाग्दैन ।
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार यो सुविधा मुख्यतः सीमावर्ती बजारमा दैनिक किनमेल, सामान्य व्यापार तथा आवतजावत गर्ने स्थानीय नागरिकलाई लक्षित गरेर दिइएको हो । “सुविधा लिने भनेका सीमावर्ती बजारका स्थानीय हुन् । उनीहरूलाई सहज ओहोरदोहोरका लागि यस्तो व्यवस्था गरिएको हो”, उनले भने । उनले नेपाली सवारीसाधनले पनि भारततर्फ नजिकका रेलवे स्टेशनसम्म जान यही प्रकारको सुविधा उपयोग गर्दै आएको बताए।
डिजिटल निगरानीपछि कार्यान्वयन प्रभावकारी हुने अपेक्षा
भन्सार प्रशासनले अनलाइन प्रणाली कार्यान्वयनसँगै अब भारतीय सवारीसाधनको नेपाल बसाइ अवधि, प्रवेश सङ्ख्या र समयसीमा उल्लंघनको विवरण सहजै ‘ट्रयाक’ गर्न सकिने जनाएको छ ।
यसले राजस्व चुहावट नियन्त्रण, अवैध रूपमा लामो समयसम्म विदेशी सवारी सञ्चालन रोक्न तथा कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सीमावर्ती क्षेत्रमा हुने अनियमित आवतजावत नियन्त्रणमा पनि यसले भूमिका खेल्ने प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ ।
नेपाल सरकारले सडक मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकका सवारीसाधनका लागि अनलाइन दर्ता तथा राजस्व भुक्तानी प्रणाली सुरु भइसकेको छ । नयाँ व्यवस्थाअनुसार भारतसहित अन्य देशबाट निजी सवारीसाधन लिएर नेपाल भ्रमणमा आउने पर्यटकले यात्रा सुरु गर्नुअघि नै अनलाइनमार्फत आफ्नो सवारीको विवरण दर्ता गर्न सक्नेछन् । साथै आवश्यक राजस्व शुल्क पनि डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
भुक्तानी प्रक्रिया पूरा भएपछि पर्यटकलाई इमेलमार्फत क्युआर कोड उपलब्ध गराइनेछ । सीमा नाकामा यही क्युआर कोड देखाएर सवारीसाधनलाई नेपाल प्रवेश अनुमति दिइने व्यवस्था गरिएको छ ।
यो प्रणालीको अर्को विशेषता भनेको सवारी अनुमति अवधिको नवीकरण प्रक्रिया पनि अनलाइनमार्फत गर्न सकिने व्यवस्था हो । यात्राका क्रममा अनुमति अवधि सकिएमा पर्यटकले नेपालभित्रैबाट अनलाइन माध्यमबाट अनुमति नवीकरण गर्न सक्नेछन् । यसका लागि पुन:सीमा नाकासम्म जानुपर्ने आवश्यकता नपर्ने जनाइएको छ ।


प्रतिक्रिया