काठमाडौँ । सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं. ७ गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८:४५ बजे विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्रले ट्रकसहित तस्करीमा संलग्न भएको आरोपवमा सिरहाको नवराजपुर गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र सोही ठाउँका ३५ वर्षीय आनन्द यादवलाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लुकाइछिपाइ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको सामान बोकेको ट्रकसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मांडर बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।


प्रतिक्रिया