युक्रेनमा रुसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनमा रुसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते



युक्रेनमा भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले मंगलबार बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिन पछि आक्रमण भएको जनाइएको छ ।

हाल घातक द्वन्द्व अन्त्य गर्ने वार्ता ठप्प रहेको छ भने सन् २०२२ मा आक्रमण सुरु गरे देखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ ।

युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रुसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लाहरूमा बिजुली कटौती गरेको एएफपिले बताएको छ ।

सहरका मेयर भिटाली क्लिट्स्कोले सामूहिक आक्रमणमा चार जनाको मृत्यु भएको र दुई बालबालिका सहित कम्तीमा ५८ जना घाइते भएको बताएका छन् । सहरमा विस्फोट भई रहेको जनाउँदै एयर डिफेन्स फोर्सले काम गरिरहेको र सुरक्षित स्थानमा बस्न क्लिट्स्कोले पहिले नै चेतावनी दिएका छन् ।

किएभ सहरको केन्द्रबाट धुवाँको ठूलो मुस्लो निस्कँदै गर्दा स्थानीय बासिन्दाहरू झोला र कम्बलहरू समातेर आश्रय स्थलहरूमा हतार– हतार जाँदै गरेको एएफपीले जनाएको छ । रुसले ब्यालेस्टिक मिसाइलले प्रहार गरिरहेको किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख तिमुर टाकाचेन्कोले पुष्टि गरेका छन् ।

यसै गरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो । डिनिप्रो सहरमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताएका छन् ।

मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित दश जना घाइते भएका छन् । यसैबीच, युक्रेनी सीमा नजिकै रुसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएका छन् ।

एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाइ सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सूचना जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न सक्ने प्याट्रियट मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन र वित्त पोषण गर्न सहयोगीहरूलाई आह्वान गरेका छन् ।

पछिल्लो समयमा युक्रेनले पनि दैनिक रुसी बमबारीको बदलामा कब्जा गरिएका क्षेत्रहरू र सिमावर्ति रुसी क्षेत्र माथि आक्रमण बढाएको जनाइएको छ ।