धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फका ५ जना परिवर्तन गरेर नयाँ अनुहारलाई मन्त्री बनाइने भएको छ । शनिबार साँझ भएको सहमतिअनुसार ३ जना मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गरेर नयाँ अनुहार पठाउन लागिएको हो । आजै पद तथा गोपनीयताको शपथग्रहण गराइने कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बताए ।
विष्ट पक्षले दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउन खोजे पनि शाहको पद कायमै राखेर मन्त्री मात्र परिवर्तन गर्ने सहमति भएको छ । संसदीय दलमा देखिएको विवादको समाधान खोज्न नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसीलाई धनगढी पठाइएको थियो ।
यी हुन सम्भावित मन्त्री
असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टले आफू मन्त्री नहुने बताए । शनिबार साँझको सहमतिअनुसार विष्ट पक्षले २ मन्त्री र १ राज्यमन्त्री पाउने छ । मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्री र एक राज्यमन्त्री आफू निकटलाई बनाउने छन् । नयाँ मन्त्रीमा विष्ट पक्षबाट पदमबहादुर शाही, मानबहादुर रावल र बेलबहादुर रानाको नाम चर्चामा छ । यस्तै, मुख्यमन्त्री शाहले आफ्नो तर्फबाट विक्रमसिंह धामीलाई आर्थिक मामिलामन्त्री बनाउने सम्भावना रहेको बताइएको छ । राज्यमन्त्रीमा विष्ट पक्षले गीता चौधरी र ललिता सुनारमध्ये एक र मुख्यमन्त्रीले डम्मरी महरा रक्षालाई छान्ने बताइएको छ ।
अहिले कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा बहादुरसिंह थापा, सामाजिक विकासमन्त्रीमा मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शिवराज भट्ट छन् । यस्तै गरेर सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाशबहादुर वम रहेका छन् ।
एक जना प्रकाशबहादुर देउवा अमेरिका रहेकाले हाल नेपालमा कांग्रेसका १७ जना प्रदेशसभा सदस्य छन् । १७ मध्ये नौ जनाले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने गरेर हस्ताक्षर बुझाएका थिए । त्यहीबेला महराले हस्ताक्षर फिर्ता लिएका थिए ।


प्रतिक्रिया