नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बर्दियामा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सरकारी छाप, लेटरप्याड र दस्तखतको दुरुपयोग गर्दै ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए।

प्रहरीका अनुसार उक्त दम्पतीले सरकारी कार्यालयको झल्को दिने साइनबोर्ड, लेटरप्याड तथा छाप तयार गरी स्थानीयलाई जागिर तथा रोजगारी दिने प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’को नामसँग मिल्दोजुल्दो नाम प्रयोग गरी उनीहरूले गतिविधि सञ्चालन गरेको खुलेको छ।

यस्तै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर रकम भुक्तानी नगरेको आरोप पनि उनीहरूमाथि लागेको छ।

घरधनीको जाहेरीका आधारमा अनुसन्धान थालेको प्रहरीले नक्कली कार्यालयमार्फत स्थानीयलाई कर्मचारी नियुक्त गर्ने, विभिन्न काममा लगाउने र ज्याला नदिने गरेको तथ्य फेला पारेको जनाएको छ।

प्रहरीले जेठ २० गते घनश्याम न्यौपाने र कृपा चौधरीलाई पक्राउ गरेको हो। उनीहरूमाथि ठगी तथा सरकारी कागजात र छापको दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।