महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१२, डाँडाटोलमा एक विवाहित महिलाको रहस्यमय मृत्यु भएपछि स्थानीयवासी र माइती पक्ष आक्रोशित बनेका छन्। घटनापछि शुक्रबार राति ठूलो संख्यामा जम्मा भएका माइती पक्ष र स्थानीयवासीले मृतक महिलाको घरमा तोडफोड गर्नुका साथै घरमा पार्क गरिएको कारमा आगजनी गरेका छन्।
प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजे आक्रोशित समूहले रामबाबु सिंह र शशी सिंहको घरमा प्रवेश गरी विभिन्न सामग्रीमा तोडफोड गरेको थियो। भीडले घरमा पार्क गरिएको कारमा आगो लगाउनुका साथै एउटा मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। आगलागीपछि प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।
गौशाला नगरपालिका–११, कान्तिबजार माइतीघर रहेकी रिंकु कुमारी सिंहको मृत्युको खबर पाएपछि माइती पक्षका दर्जनौँ व्यक्ति बर्दिबास पुगेका थिए। आक्रोशित समूहले घरभित्र प्रवेश गरी तोडफोड गर्नुका साथै विभिन्न सरसामान बाहिर निकालेर फाल्नुका साथै घरका सामग्रीमा क्षति पुर्याएको बताइएको छ।
घटनापछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सो क्रममा केही समय स्थानीय र प्रहरीबीच तनावसमेत सिर्जना भएको थियो। मध्यरातसम्म तनावको अवस्था रहे पनि प्रहरीले सुरक्षा घेरा बढाएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार बर्दिबास नगरपालिका–१२, डाँडाटोल निवासी शशी सिंहकी श्रीमती रिंकुकुमारी सिंह आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी कोठाको सिलिङमा सलको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको छ। शव परीक्षणलगायत कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको डीएसपी गोलेले बताए ।


प्रतिक्रिया