काठमाडौँ । बाराको जितपुर सिमरा उप-महानगरपालिकामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै चार बालबालिकामाथि अमानवीय व्यवहार गर्ने आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ६२ वर्षीया मीना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइबा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बालबालिकाहरूले मोबाइल चोरी गरेको भन्ने विषयलाई लिएर स्थानीय महिलाहरूले उनीहरूलाई बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो ।
पक्राउ परेका चारै जनाविरुद्ध बालबालिका विरुद्धको कसुर मा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कलैयाबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान कार्य अघि बढाएको छ । घटना मंगलबारको भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया