काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री बनाउँदै पेपरलेस वा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रणालीलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
समितिका संयोजक वरिष्ठ प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो।
बैठकले यसअघि केन्द्रीय निर्वाचन समितिमा रहेर काम गरेका संयोजक, सदस्य तथा निर्वाचन अधिकृतहरूको अनुभव, राय र सुझावलाई समेट्दै सबै सरोकारवालाबाट सकारात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ। समितिले उक्त निर्णयहरू जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष पेश गर्ने पनि निर्णय गरेको छ।
निर्णयअनुसार निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले विधानमा अन्यथा व्यवस्था भएको अवस्थाबाहेक निर्वाचन अवधिभर केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गत रहेका १५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णय पनि बैठकले गरेको छ।
निर्वाचन कार्यमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट स्वयंसेवक आह्वान गरी रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रममार्फत प्रशिक्षण दिएपछि निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि समितिले गरेको छ।


प्रतिक्रिया