भेलाको मिति तोक्न कांग्रेस संस्थापनइतरको बैठक चुनदेवीमा

भेलाको मिति तोक्न कांग्रेस संस्थापनइतरको बैठक चुनदेवीमा


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज सोमबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो ।

बैठक काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा आज दिउँसो १ बजे बोलाइएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।

गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो ।

चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । १५ औं महाधिवेशनका सम्पूर्ण तयारीहरू, छलफलहरू, बैठकहरू त्यहीँबाट हुने बताइएको छ । सम्पर्क, सम्बन्ध र संगठन बिस्तारका काम पनि सम्पर्क कार्यालयबाटै हुने बताइएको थियो ।