दुईवटा कुरा गर्न नसक्ने संस्थापनइतरलाई सभापति गगनको स्पष्ट जवाफ

दुईवटा कुरा गर्न नसक्ने संस्थापनइतरलाई सभापति गगनको स्पष्ट जवाफ


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले संस्थापनइतरबाट आएको दुई प्रस्ताव आफूले स्वीकार्न नसक्ने बताएका छन् । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसकिने बताएका हुन् ।

कांग्रेसको विदेशस्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्ने क्रममा सभापति थापाले उक्त प्रसंग उठाएका हुन् । १४ औं महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समयोजन गर्ने र अद्यावधिक नगर्ने विषयलाई आफूले स्वीकार्न नसक्ने सभापति थापाले बताएका छन ।

संस्थापनइतरले १११ केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने प्रस्ताव वर्तमान नेतृत्वसँग गरेको छ । संस्थापनइतरले क्रियाशील सदस्यता अद्यावधिक पार्टी निर्णयको विरोध गर्दै आएको छ । ‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन ।

एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नराउँ नगरिकन पनि यसलाई चलाउँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाफ हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ सभापति थापाले संस्थापनइतरलाई भने,‘विशेष महाधिवेशनबाट नयाँ केन्द्र समिति बनिसक्यो । यो सबैको केन्द्र समिति हो ।

सभापतिले पाएको अधिकार अनुसार बढी भन्दा बढी साथीहरुलाई सहभागी गराउने कुरा यो जिम्मेवारी कुरा म गरिहाल्छु । तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ त्यो सबै साथीहरुलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने कुरा चाहिँ त्यो विधानले नदिने कुरा गर्नु पनि हुदैन ।’

कांग्रेस सभापति थापाले १५ औँ महाधिवेशनलाई सबैको बनाउनको आफू तयार रहेको बताए । महाधिवेशनको तिथि मितिमा छलफल गर्ने तयार रहेको जानकारी संस्थापनइतरलाई गराए । सदस्यता छानविन समिति, निर्वाचन समिति, अनुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति अर्को पक्षले चाहे अनुसारको बनाउन तयार रहेको पनि बताएका छन ।