यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सरकारले बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका आठ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ।

यसैगरी, बैठकले ‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजनालाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

सरकारले यी निर्णयमार्फत प्रशासनिक व्यवस्थापन, शिक्षा क्षेत्रको नियमन, मानव अधिकार संरक्षण तथा सुशासन प्रवर्द्धनसँग सम्बन्धित नीतिगत कामलाई अघि बढाउने जनाएको छ।