काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधि सभाका सभामुखको भूमिका थप निष्पक्ष, सन्तुलित र समन्वयकारी हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
उनले सभामुख कुनै राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण सदनको साझा जिम्मेवार पदमा रहने भएकाले संसद् सञ्चालन गर्दा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए । विपक्षी दलहरूको गतिविधि वा धारणा बुझ्ने नाममा उनीहरूको राजनीतिक अवस्थाको परीक्षण गर्ने प्रयास नगर्न समेत उनले आग्रह गरे ।
नेता आङ्देम्बेले सदनमा कुनै विषयमा असहमति जनाउँदा विपक्षी दलका सबै प्रतिनिधिलाई आफ्ना धारणा राख्ने अवसर उपलब्ध हुनुपर्ने बताए । विरोधका क्रममा एउटै दल वा पक्षबाट एक जनाले मात्र बोल्ने व्यवस्था गर्ने सोच उपयुक्त नभएको उनको भनाइ थियो ।
उनले सरकार पक्षबाट पटक–पटक विवादित अभिव्यक्ति आउने अवस्था रहे पनि विपक्षी दलहरूले संसद्को नियमित कामकारबाही सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गरे । यस्तो सहयोगलाई कमजोरीका रूपमा नलिन उनले चेतावनी दिए ।
सत्तापक्ष र विपक्षीबीच पर्याप्त समन्वय हुन नसक्दा संसद् भित्र समस्या देखिएको भन्दै नेता आङ्देम्बेले संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया