ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत कार्गो शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिएका छन् । यसको सट्टा खाडी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गरिने र त्यसबाट अमेरिकाले अझ बढी लाभ लिने उनले बताएका छन् ।

ट्रम्पका अनुसार ती सम्झौतामार्फत अमेरिकामा ठूलो परिमाणमा लगानी भित्रिनेछ र त्यसले लाखौं नयाँ रोजगारी सिर्जना गर्नेछ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै मध्यपूर्वका नेताहरूसँग भएको ‘अत्यन्त सकारात्मक वार्ता’ पछि २० प्रतिशत शुल्क लगाउने निर्णय परिवर्तन गरिएको बताएका छन् । अब प्राथमिकता खाडी मुलुकहरूसँग व्यापार र लगानीसम्बन्धी सम्झौतामा केन्द्रित हुने उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘यी लगानीहरूको आकार निकै ठूलो हुनेछ । यसले अमेरिकामा नयाँ कारखाना र उद्योग स्थापना गर्नेछ, जसबाट राम्रो तलब भएका रोजगारीका अवसर सिर्जना हुनेछन् ।’

ट्रम्पले सोमबार मात्रै अमेरिका स्ट्रेट अफ होर्मुजको ‘संरक्षक’ बन्ने र उक्त समुद्री मार्ग हुँदै ओसारपसार हुने सबै कार्गोमा २० प्रतिशत शुल्क उठाउने घोषणा गरेका थिए । रणनीतिक रूपमा महत्वपूर्ण यस समुद्री मार्गको सुरक्षा अमेरिकाले गरिरहेको भन्दै त्यसको लागत अन्य मुलुकहरूले व्यहोर्नुपर्ने उनको तर्क थियो ।

इरानका जहाज र कार्गोमाथि पूर्ण प्रतिबन्ध
उनले स्ट्रेट अफ होर्मुज सबै देशका लागि खुला रहने, तर इरानी जहाज र इरानी कार्गोमाथि पूर्ण प्रतिबन्ध लागू गरिने पनि बताएका थिए ।

ट्रम्पले अमेरिकी सेनाकै कारण स्ट्रेट अफ होर्मुज सुरक्षित रहेको र तेल आपूर्ति पहिलेभन्दा अझ सहज रूपमा भइरहेको दाबी गरेका छन् । उनले रक्षा मन्त्री पीट हेगसेथ, संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष ड्यान केन, सेन्ट्रल कमान्ड प्रमुख एडमिरल ब्राड कुपर तथा अमेरिकी सशस्त्र बलको प्रशंसा गरेका छन् ।

साथै, इरानसँग सम्बन्धित जहाज तथा इरानी बन्दरगाहबाट आउने–जाने कार्गोमाथि पूर्ण नाकाबन्दी जारी रहने पनि उनले दोहोर्‍याएका छन् ।

तनावका बीच रणनीतिमा परिवर्तन
ट्रम्पको यो घोषणापछि इरानले अमेरिकाको भूमिकालाई पूर्ण रूपमा अस्वीकार गरेको थियो । इरानका विदेशमन्त्री अब्बास अराघचीले २० प्रतिशत शुल्क प्रस्तावको व्यंग्य गर्दै भनेका थिए, ‘२० प्रतिशत त धेरै भयो, हामी निष्पक्ष रहनेछौं ।’

इरानको संयुक्त सैन्य कमान्डले पनि अमेरिकालाई स्ट्रेट अफ होर्मुजको नियन्त्रण वा निगरानी गर्न नदिने स्पष्ट पारेको थियो । तेहरानले इरानको अनुमति बिना अमेरिकी सेनाले उक्त जलमार्गमा हस्तक्षेप गर्ने प्रयास गरे कडा जवाफ दिइने चेतावनी दिएको थियो । साथै, क्षेत्रीय मुलुकहरूलाई पनि अमेरिकासँग सहकार्य नगर्न चेतावनी दिएको थियो ।

अमेरिका र इरानबीच सैन्य तनाव लगातार बढिरहेका बेला ट्रम्पले यस्तो नयाँ निर्णय लिएका हुन् । दुवै देशबीच आक्रमण र जवाफी कारबाही जारी रहेका समयमा कार्गो शुल्कको प्रस्ताव फिर्ता लिएर व्यापार तथा लगानी सम्झौतामा जोड दिनु ट्रम्पको रणनीतिमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।

यद्यपि, उनले इरानी जहाजमाथिको प्रतिबन्ध यथावत् रहने र इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीति कायम रहने स्पष्ट पारेका छन् ।