रौतहट। भारत–नेपाल सीमास्थित रक्सौल–वीरगञ्ज मैत्री पुल (कस्टम चोक) मा सशस्त्र सीमा बल (एसएसबी) ले नेपाल प्रवेश गर्न लागेकी उज्बेकिस्तानकी एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उज्बेकिस्तानकी नागरिक बोजोरोवा शकरजोन रहेकी छन्। उनी भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नियमित सुरक्षा जाँचका बेला शंकास्पद देखिएपछि एसएसबीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानका अनुसार ती महिलासँग भारतमा बसोबास गर्न आवश्यक पर्ने वैध भिसा वा अन्य कानुनी कागजात थिएनन्। उनले आफ्नो वास्तविक परिचय लुकाउन नक्कली भारतीय आधार कार्डसहित अन्य कागजात तयार पारेको खुलेको छ।
सीमामा कागजात जाँचका क्रममा शंका उत्पन्न भएपछि एसएसबीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हरैया थाना प्रहरीको जिम्मा लगाएको छ।
घटनापछि एसएसबी, स्थानीय प्रहरी तथा भारतीय गुप्तचर निकायले महिलासँग गहन सोधपुछ गरिरहेका छन्। अनुसन्धानका क्रममा उनी भारतमा कहिले र कुन मार्ग हुँदै प्रवेश गरेकी थिइन्, नक्कली आधार कार्ड तथा अन्य कागजात कसले तयार गरिदिएको हो, नेपाल जानुको उद्देश्य के थियो तथा यस घटनामा कुनै अन्तर्राष्ट्रिय सञ्जाल वा मानव तस्करी गिरोहको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको जनाइएको छ।
भारत–नेपाल खुला सीमालाई दुरुपयोग गर्दै विदेशी नागरिकले नक्कली भारतीय कागजात प्रयोग गरी सीमा पार गर्ने प्रयास गरेको घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएका छन्। घटनापछि सीमामा निगरानी थप कडा बनाइएको तथा कागजात परीक्षणलाई अझ प्रभावकारी बनाइएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
यस घटनाबारे विस्तृत आधिकारिक विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको बताइएको छ।


प्रतिक्रिया