अमेरिकाले इरानमाथि आक्रमण बढाइरहेका बेला इरानले पनि जवाफी कारबाही गरिरहेको छ। तर इरानले आफ्नो तट नजिक रहेका अमेरिकी नौसैनिक जहाज वा इजरायललाई सीधै आक्रमण नगरी कुवेत, बहराइन, जोर्डनलगायत खाडी मुलुकका सैनिक तथा पूर्वाधारलाई निशाना बनाइरहेको छ।
विश्लेषकहरूका अनुसार इरानको यो रणनीति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब सिर्जना गर्ने हो, तर युद्ध अझै ठूलो स्तरमा फैलिन नदिने उद्देश्य पनि यसमा रहेको छ।
अमेरिकाले इरानका रेलमार्ग, विद्युत् केन्द्र, दूरसञ्चार सञ्जाल र खानेपानी पूर्वाधारमा आक्रमण गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनका नागरिक विमानस्थल, पानी तथा विद्युत् केन्द्रहरूमा आक्रमण गरेको बताइएको छ।
सैन्य विश्लेषकहरूका अनुसार इरानले अमेरिकी नौसैनिक जहाजलाई आक्रमण नगर्नुको कारण पनि स्पष्ट छ। लेबनानका अवकाशप्राप्त ब्रिगेडियर जनरल तथा सैन्य विश्लेषक एलियास हन्नाका अनुसार अमेरिकी नौसैनिक सम्पत्तिमाथि आक्रमण भए अमेरिकाबाट निकै कडा जवाफ आउन सक्छ। साथै ती जहाजहरू अत्याधुनिक हवाई सुरक्षा प्रणालीले सुरक्षित भएकाले तिनलाई निशाना बनाउन पनि निकै कठिन हुन्छ।
हुथी समर्थकद्वारा साउदीविरुद्ध समुद्री नाकाबन्दीको समर्थन
यमनको राजधानी सानामा हुथी समर्थकहरूले साउदी अरेबियाविरुद्ध घोषणा गरिएको समुद्री नाकाबन्दीको समर्थनमा प्रदर्शन गरेका छन्। सानाको साबिन स्क्वायरमा आयोजित प्रदर्शनमा सहभागी मुजिब अल–ब्लाइहीले यो निर्णय साउदी अरेबियाले वर्षौंदेखि यमनमाथि लगाएको नाकाबन्दीको जवाफ भएको बताए।
उनले भने, “साउदीको आक्रमण र १२ वर्षदेखिको नाकाबन्दीको जवाफमा यो सही निर्णय हो। उनीहरूले हामीमाथि नाकाबन्दी गरे, त्यसैले अब नाकाबन्दीको जवाफ नाकाबन्दी, विमानस्थलको जवाफ विमानस्थल र बन्दरगाहको जवाफ बन्दरगाहबाट दिनुपर्छ।”
अर्का समर्थक अब्दुल्लाह अल–असौलीले पनि यमनीहरूले लामो समयदेखि विमानस्थल र बन्दरगाह खोल्न माग गर्दै आएको बताए। उनले त्यसपछि “नाकाबन्दीको जवाफ नाकाबन्दी” गर्ने निर्णय लिइएको र प्रदर्शनकारीहरूले हुथी सशस्त्र बललाई समर्थन गरेको बताए।
यता साउदी अरेबियाले भने हुथीहरूको समुद्री नाकाबन्दीको निर्णयको विरोध गर्दै आफूले यमनी जनतामाथि नाकाबन्दी नगरेको दाबी गरेको छ। साउदीले वैधानिक यमनी सरकारसँग मिलेर यमनी जनताको पीडा कम गर्न विकास आयोजना सञ्चालन, सरकारी बजेटमा सहयोग तथा विद्युत् उत्पादनका लागि इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ।
साथै, सन् २०२६ को पहिलो छ महिनामा उत्तरी यमनका होदेइदाह, अस–सलिफ र रस इसा बन्दरगाहमा खाद्यान्न, इन्धन, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तु बोकेका ३०० भन्दा बढी जहाज पुगेको पनि साउदीले जनाएको छ।


प्रतिक्रिया