काठमाडौं । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता र कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो । उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता र कार्यकर्ता लखेटिएका हुन् । पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर ! उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’ उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया