पूर्वएसएसपी साहको जग्गा पुनः धितो राखी करोडौँ ऋण लिएको आरोप, ३ जना पक्राउ

पूर्वएसएसपी साहको जग्गा पुनः धितो राखी करोडौँ ऋण लिएको आरोप, ३ जना पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफू जग्गा ठगीको घटनामा परेको दाबी गरेका छन् । धितोमा राखिएको आफ्नो जग्गा जानकारीबिनै पुनः धितो राखेर अर्कै व्यक्तिले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले बताएका हुन् ।

धनुषाको विदेह नगरपालिका-८ स्थायी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-२ मा बस्दै आएका साहले घटनाबारे जानकारी गराउँदै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिने क्रममा पत्नीको नाममा रहेको विदेह नगरपालिका-६ तीनकौरियास्थित पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक राखेका थिए । तर, आफूलाई जानकारी नदिई उक्त जग्गा पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको उनको दाबी छ ।

ऋणको साँवा र ब्याज तिरेर जग्गा फिर्ता गर्न पटक-पटक आग्रह गर्दा पनि विभिन्न बहाना बनाइएको भन्दै साहले ठगीसम्बन्धी जाहेरी दिएको बताएका छन् ।

उनको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगी आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह र छोरा हरेराम साह रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।