कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता अनुमोदनको समयसीमा तोक्यो

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता अनुमोदनको समयसीमा तोक्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको छ । पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता आवेदन, अद्यावधिक र अनुमोदनको समयसीमा तोकेको हो ।

बैठकले वडा सभापतिमार्फत नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने तथा अनलाइन प्रणालीमार्फत आवेदन दिएर वडा सभापतिको पोर्टलमा रहेका सदस्यताको आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ श्रावण १४ गते तोकेको छ ।

त्यस्तै, पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतका तहबाट अनुमोदन भएर आएका नयाँ क्रियाशील सदस्यताको आवेदन तीन दिनभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरिएको छ ।

इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली तथा दुर्गम पहाडी जिल्लाका सदस्य र भातृ तथा शुभेच्छुक संस्थाका सदस्यको सदस्यता अद्यावधिक एक्सेल फारममार्फत केन्द्रबाट गरिने भएको छ । त्यस्ता फारम २०८३ श्रावण १५ गतेभित्र केन्द्रमा बुझाउनुपर्नेछ ।

क्रियाशील सदस्यता अद्यावधिक नगरेका वा डिजिटल प्रणालीमा अद्यावधिक हुन नसकेका तहमा वैकल्पिक सभापतिको व्यवस्था गरी सदस्यता अद्यावधिक र नयाँ सदस्यता अनुमोदन गर्ने व्यवस्था पनि बैठकले गरेको छ ।

त्यस्तै, विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूको सदस्यता केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट अद्यावधिक गरिने भएको छ । कुनै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम र ३५ वर्षभन्दा कम उमेरका सदस्यको संख्या पाँचभन्दा कम भएमा त्यस्ता वडामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय पनि गरिएको छ ।